नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।

एमालेको प्रथम विधान महाधिवेशनमा पेश भएको विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गरिएको छ । आज (शुक्रबार) बाट ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी महाधिवेशनले पार्टीका केन्द्रीय संरचना प्रस्ताव गरेको हो ।
अब नेकपा एमालेमा २२५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । एमालेमा अब अध्यक्ष, उपाध्यक्ष पाँच, महासचिव एक, सचिव ६, सदस्य दुई सय १२ जना गरी केन्द्रीय समिति दुई सय २५ सदस्यीय रहने भएको हो । यस्तै, प्रदेश कमिटीका अध्यक्ष पदेन केन्द्रीय समिति सदस्य रहने भएका छन् ।
यसअघि प्रस्ताव भएको उपमहासचिव पद खारेज भएको छ । उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहने भनिएको थियो । त्यस्तै पौडेलले ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ । अहिले एमालेमा ५ जना सचिव रहेका छन् । एमालेको प्रथम विधान महाधिवेशन जारी रहेको छ ।

