नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असाेज ।

गठबन्धनमा आवद्ध दलहरूको आन्तरिक विवादका कारण पूर्णता नपाएको मन्त्रिपरिषद् अझै केही समय विस्तार नहुने भएको छ । सत्ता गठबन्धनको बैठक बस्न नसक्दा मन्त्रिपरिषद् विस्तार थप अन्यौल परेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालको ८१ दिन बित्दासम्म जम्मा सात मन्त्रीको भरमा राजकाज चलिरहेको छ । गत आइतबार नै राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गठबन्धनमा सहमति जुटेको थियो ।
तर, यही समयमा माधवकुमार नेपाल अस्वस्थ भएर अस्पताल भर्ना भएपछि देउवाको मन्त्रिपरिषदलाई पूर्णता दिने काममा रोकिएको हो । नेपाल अस्वस्थ हुँदा सत्ता गठबन्धनको बैठक बस्न नसकेकाले मन्त्रीपरिषद बिस्तार हुन नसकेको नेताहरू बताउँछन् ।
माधव नेपालको स्वास्थ्यबाहेक सरकार विस्तारका लागि कुनै पनि कुरा बाधक नभएको गठबन्धन दलका नेताहरूको दाबी छ । यद्दपी मालदार मन्त्रालयमा भागवण्डा नमिल्दा पनि सत्ता गठबन्धनको बैठक अनिश्चित बनेको स्रोतको दाबी छ ।

