नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असाेज ।

नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष छनौट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको बताए ।
बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ । सो प्रस्ताव नेताहरुलाई अध्ययनका लागि दिइएको र अव बस्ने अर्को स्थायी कमिटीले बैठकले त्यसबारे निर्णय गर्ने पनि प्रवक्ता महराले बताए ।
बैठकमा सरकारका सहभागी हुने नेताहरुको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ । सत्ता गठबन्धनको बैठक बस्न नसकेको कारण मन्त्रिपरिषद् विस्तार थप अन्यौलमा परेको छ ।

