नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असोज ।
माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा श्रीलंका नेपालसँग ३-२ ले पराजित हुन पुग्यो ।
माल्दिभ्सको मालेमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ३१औं मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ५१ औं मिनेटमा अन्जन विष्टले गोल गर्दैं नेपालको अग्रता दोब्बर बनाए । तर, खेलको ५७ औं मिनेटमा श्रीलंकाका माभिन हमिल्टनले गोल गर्दा खेललाई २–१ को स्थितिमा ल्याए ।
त्यस्तै खेलको ८५ औं मिनेटमा आयुस घलानले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए । खेलको अतिरिक्त समयमा श्रीलंकका डिलन डि सिल्भाले पेनाल्टी मार्फत गोल गदैं खेललाई ३–२ को अवस्थामा पुर्याएपनि श्रीलंकाको हार टार्न सकेनन् र खेल नेपालले ३-२ ले जित्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।
जितसँगै २ खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो भने श्रीलंका दोस्रो पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।