नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।
चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको पहिलो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्स चेन्नईसँग ४ विक्र्तले पराजित हुन् पुग्यो ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शले ६० रनको अर्धशतकीय पारी खेले भने यस्तै कप्तान ऋषव पन्तले ५१ रनमा अविजित रहे । त्यस्तै शिम्रन हिटमायर ३७ रन बनाई आउट भए भने अक्षर पटेलले १० रन जोडे । चेन्नईका लागि जेस हजलउडले २ विकेट लिए भने रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोको भागमा समान १-१ विकेट रह्यो ।
१७३ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले १९.४ ओभरमा ६ विकेट गुमाउदै पूरा गर्यो । चेन्नईको लागि रुतुराज गायकवाडले ७० रनको अर्धशतकीय पारी खेले भने रोबिन उथप्पाले ६३ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनी १८ रनमा अविजित रहँदा मोइन अलीले १६ रन बनाए । दिल्लीका लागि टम करणले ३ विकेट लिए भने एन्रिच नोर्किया र अभेस खानको भागमा समान १-१ विकेट रह्यो ।
पराजितको बाबजुत दिल्लीले पुन: एक मौका पाएको छ । अब फाइनल प्रवेशका लागि दिल्लीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । एलिमिनेटरमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् ।