शीर्ष नेताहरुको दशैं, कहाँ र कसरी मनाउँदै छन् ?

हिन्दुहरुको महान चाड दशैं यतिबेला धुमधामसँग मनाइँदैछ । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा रहेका सर्वसाधारण आफ्नो गाँउ घर फर्किइसकेका छन् । मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्न नेतादेखि सर्वसाधारण आफ्नो घरमा जम्मा हुन्छन् । यो वर्ष राजनीतिक दलका शीर्ष नेताहरुले कहाँ र कसरी दशैं मनाउँदै छन् ?

शेरबहादुर देउवा
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले यो वर्षको बडा दशैं काठमाडौंमा नै मनाउने भएका छन् । सरकार र काँग्रेस पार्टी सभापति दुवै नेतृत्वको जिम्मेवारीमा रहेका उनले विजया दशमीका दिन परिवारमै टीकटालो गर्ने र यस पश्चात् प्रधानमन्त्री निवास बालुवाटारमा पनि नेताहरुसँग भेटघाट गरी दशैं मनाउने कार्यतालिका रहेको प्रधानमन्त्री निजी निवासले जनाएको छ । ‘प्रधानमन्त्री ज्यू सरकारको गतिविधिमै व्यस्त छन्, प्रधानमन्त्री निवास बालुवाटारमा टीका थाप्न आउनेहरुलाई टीका लगाइदिने छन् । यसबाहेक गृहजिल्ला डडेलधुरा वा अन्त कतै जाने योजना छैन ।,’ प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।



माधवकुमार नेपाल
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि यो वर्षको दशैं काठमाडौंको कोटेश्वरस्थित निजी निवासमा मनाउदै छन् । ‘उनले परिवारलाई टीका लगाइदिने छन् भने, उनले सानीआमा शान्ता नेपाल र दाजु कृष्णकुमार नेपालको हातबाट टीका लगाउने छन् । परिवारहरुलाई टीका लगाउने यस्तै सामान्यरुपमा दशैं मनाउनेछन् ,’ नेपालको निजी सचिवालयले जनाएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयका अनुसार यो वर्षको दशैं ललितपुरको खुमलटारमा नै पारिवारिक भेटघाटमा बिताउँदै छन् । ‘दशैंमा अरु के हुनु र ? टीका वा त्यस्तो तामझामभन्दा पनि सधैं झैं सामान्यरुपमा पारिवारिक सदस्यहरुको भेटघाट बढी महत्वपूर्ण कुरा हुन्छ । सबैजना सँगै बस्यो, खायो अनि छलफल गर्यो । दशैंमा पहिलेदेखि नै त्यस्तो विशेष गर्ने गर्दैनौं ।’, ।

केपी शर्मा ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षले दशैंको समयमा पार्टीकोे सामान्य भेटघाटसहित भक्तपुरस्थित बालकोटमा दैनिकी बिताइरहेका छन् । यो वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली दशैं मनाउन नवमी अर्थात् असोज २८ गते गृहजिल्ला झापा जाँदै छन्। ‘उनी नवमीको दिन गृहजिल्ला जाँदै छन् । तर, नाताले भाई पर्नेको यसै वर्ष देहावसान भएका कारण टीकाको कार्यक्रम भने छैन,’ निजी सचिवालयले जनाएको छ ।

रामचन्द्र पौडेल
सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका दशैं पनि बोहोराटारस्थित निजी निवासमा नै बित्ने भएको छ । ‘दशैंको मेरो खासै केही छैन । मेरो पनि घरमा त्यस्तै (जुठो) परेको भएर यसवर्ष मेरो दशैं छैन । अब त्यस्तै हो, साथीहरुसँग भेट्छु, काँग्रेस महाधिवेशन चलिरहेको छ, यसरी नै बित्छ,’ पौडेल बताउछन् ।

महन्थ ठाकुर
सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर दशैंको लागि आफ्नो क्षेत्र महोत्तरी जाँदै छन् । ‘मेरो आफ्नो घर छैन । आफ्नो क्षेत्रमा जान्छु, साथीहरुले जहाँ–जहाँ घुमाउछन्, त्यही घुम्छु । मधेशमा घटस्थापनादेखि देवी र शक्ति पीठहरुमा जात्रा–पूजा शुरु भइसकेको छ । देवीको दर्शन गरेर दशैं मनाउछु ।’, ठाकुरले बताए ।

बामदेव गौतम
नेकपा एमालेमा राजीनामा बुझाएका नेता बामदेव गौतमले पनि यस वर्षको दशैं काठमाडौंमा नै बिताउँदै छन् । नेता गौतमले दशैं अवधिमा देशको कम्युनिष्ट आन्दोलनमा आएको उतारचढाव र समग्र कम्युनिष्ट पार्टीबारे किताब लेखिरहेका उनको निजी सचिवालयले जानकारी दिएको छ ।

डा. डिला संग्रौला
सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौला भने दशैं मनाउन सप्तमी अर्थात् असोज २६ गते विराटनगर गएका छन् । ‘कोरोना महामारीका कारण पोहोर जिल्ला जान पाइएन । यसपटक विराटनगर जान्छु, त्यहाँ हाम्रो संग्रौला परिवारको सबैभन्दा जठो सदस्य मेरो ससुरा हुन्, उनको हातको टीका लगाउछु । परिवारमा आफन्तजनहरु आउँछन् , उनीहरुलाई टीका लगाएर दशैं मनाउने योजना छ,’ संग्रौलाले भने ।

पशुपति शमशेर जबरा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबरा भने दशैं मनाउनको लागि असोज २५ गते नै भारतको नयाँ दिल्ली गइसकेका छन् । ‘उनी प्रत्येक वर्ष नै दशैंका लागि दिल्ली जान्छन् , यो वर्ष पनि सोमबार बिहान ११ बजे दशैंका लागि दिल्ली गइसकेका छन्,’ उनको निजी सचिवालयले जानकारी दिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित समाचार