परदेशबाट (कविता, उपजाति छन्द)

सम्झेर आफ्नो घर गाउँ साथी
फर्कन्छु प्यारी परदेश छाडी।
विदेशमा भो अब बस्न गाह्रो
छ काख तिम्रो अति नै पियारो।।१।।

पिता र मातासित रम्न पाऊँ
टिको लगाई पद पुज्न पाऊँ
पत्नी र छोरा दुहिता बुहारी
इच्छासँगै बस्न भयो पियारी।।२।।



सुदूर टाढा कसरी रमाऊँ
भिसा मिलाई घरतर्फ आऊँ।
चाहा बढेको दिनरात प्यारी
एक्लो बनेँ सात समुद्र पारी।।३।।

तिमी सधैँ दूर भएर स्वामी
छ दुःख सास्ती म भएँ बिरामी।
सन्देश आयो घर फर्की आऊ
बाँझो खनी धान यही फलाऊ।।४।।

दसैँ ठुलो चाड तिहार उस्तै
एक्ली तिमी छ्यौ म यहाँ छु एक्लै ।
दौडन्नँ प्यारी रुपियाँ पछाडि
गर्नेछु फिर्ने म छिटो तयारी।।५।।

तृष्णा बढेथ्यो धनको अतृप्त
विदेश घुम्ने मन भो प्रशस्त ।
आएँ पियारी घरबाट टाढा
झन् झन् भयो आत्मिक प्रेम गाढा।।६।।

चिसो छहारी अति स्वच्छ हावा
भञ्ज्याङ खोला वन कुञ्ज पाखा।
जात्रा र मेला हटिया बजार
सम्झन्छु प्यारी म त बारबार।।७।।

चढ्दो जवानी किन फाल्नु खेर
रहन्न पर्खी वय बैँस हेर
बसौँ दुबै साथ मिलेर प्यारी
फर्केँ म पक्का अब छोड्छु खाडी।।८।।

गाई र बाख्रा कुखुरा सह्यारी
भैँसी तथा बङ्गुर हाँस पाली।
उद्योग केही अथवा व्यापार
स्वदेशमै गर्न भयो विचार ।।९।।

 

 

सम्बन्धित समाचार