अझै भएन सेती नदीमा फसेकाहरुको उद्धार

सेती नदीको टापुमा फसेका ६० जनाले छिटोभन्दा छिटो उद्धार गरिदिन सरकारसँग आग्रह गरेका छन् । उद्दारको पर्खाइमा रहेका उनीहरुले यथाशीघ्र उद्दार गरि आफूहरुको व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्। सेती नदीले धार परिवर्तन गरेपछि सिगास गाउँपालिका ढुङ्गाडका करिब ६० जना टापुमा फसेका हुन्।

सीगास गाउँपालिकाका प्रवक्ता रामबहादुर धामीले उनीहरुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेका छन् । उनले भने, ‘सेती नदीको किनारमा मैदान थियो । धार परिवर्तन गरेर बस्तीको बीचबाट नदी गयो। अहिलेसम्म उद्धार हुन सकेको छैन। आजै मैले सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीसँग समय मागे तर, पाएन ।’



सेती नदीमा बाढी आएपछि नदी आसपासका बस्ती बान्डोरीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासी त्रसित छन्। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी विक्रम चन्दका अनुसार दुई जिल्ला जोड्ने झोलुङ्गे पुल बगाउँदा करिब ६० जना नदीको टापुमा फसेका हुन् । एसएसपी चन्दले नदी दुवैतिरबाट बगेपछि उनीहरु टापुमै अड्किएको बताएका छन्।

उनले पुल बगाएकाले उद्धारमा कठिनाइ भएको बताए। हेलिकोप्टरबाट उद्दार गर्ने तयारी गरिएपनि खराब मौसमका कारण समस्या भएको छ। नदीले कटान गर्न थालेपछि नदी किनारमा रहेका केहि स्थानीय रातिनै सुरक्षित स्थानतिर गएका छन्।

सम्बन्धित समाचार