फेसबुकको नाम फेरियो, के हो नयाँ नाम ?

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर ‘मेटा’ बनाएको छ । कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ ।

यो परिवर्तन केवल फेसबुक, इन्स्टाग्राम वा ह्वाट्सयापजस्ता कुनै एउटा प्लेटफर्मका लागि लागू हुने छैन । माउ कम्पनीको नामनै परिवर्तन गरिएको हो । एकजना पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो । ती पूर्व कर्मचारी फ्रान्सेस हाउगनले फेसबुक कम्पनीले ‘सुरक्षाभन्दा माथि नाफा’ राखेको आरोप लगाएकी छन् ।



सन् २०१५ मा अर्को ठूलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो । फेसबुकका प्रमुख मार्क जुकरबर्गले ‘मेटाभर्स’ बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसहरूले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्छन् ।

मेटा

उनले अहिलेको नामले ‘सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने’ भएकाले नाम परिवर्तन गर्नुपरेको बताए । ‘समयसँगै, मलाई आशा छ कि हामीलाई मेटाभर्स कम्पनीका रुपमा हेरिन्छ । आगामी दिनमा हामी के बनाउँदै छौं भन्ने हाम्रो काम र पहिचानबारे म भन्न चाहन्छु,’ एउटा भर्चुअल सम्मेलनमा उनले भने ।

कम्पनीले बिहीवार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ । जुकरबर्गले भने, ‘हामी अहिले हाम्रो व्यापारलाई दुई भागमा छुट्याएर काम गर्न खोजिरहेका छौं । एउटा हाम्रो एपहरूको लागि र अर्को भावी प्लेटफर्ममा हामीले काम गर्न खोजिरहेका छौं ।’

र, यसका लागि ‘हामीले के गर्ने आशा गरेका छौं र अहिले के गरिरहेका छौं भन्ने सबै कामलाई समेट्ने कम्पनीको नयाँ नाम राख्ने समय भएको छ ।’  यसअघि बुढी औँला माथितिर फर्किएको ‘लाइक’ लोगो थियो भने कम्पनीको नाम परिवर्तन भएसँगै लोगोलाई परिवर्तन गरेर इनफिनिटी आकार बनाइएको छ । जुकरबर्गले नयाँ नामले समयसँगै प्रयोगकर्ताले कम्पनीका अन्य सुविधा प्रयोग गर्न फेसबुक प्रयोग गर्नु नपर्ने बताएका छन् ।

बाहिरका मानिसका लागि मेटाभर्स भीआरकै एउटा संस्करण जस्तो लाग्न सक्छ तर केही मानिसहरू भने यसलाई इन्टरनेटको भविष्य हुनसक्ने विश्वास गर्छन् । कम्प्युटरमा हुनुको सट्टा मेटाभर्समा हुने मानिसहरूले हेडसेटको प्रयोग गरेर भर्चुअल दुनियाँमा प्रवेश गर्ने र त्यसले डिजिटल वातावरणसँग जोड्न सक्नेछ ।

भर्चुअल दुनियाँले व्यवहारिक रूपमा काम, खेल र कन्सर्टदेखि परिवार साथीभाइसँग जोड्नेलगायत सबै गर्न सक्ने आशा गरिएको छ। -बीबीसी

सम्बन्धित समाचार