नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन टुक्रा भएपछि नेपालको राजनीतिक समीकरणमा उथलपुथल भएको छ । पाँच वर्ष प्रतिपक्षमा रहने बताउँदै आएको नेपाली काँग्रेस सत्ता संहाल्ने अवस्थामा मात्र आएको छैन, आगामी निर्वाचनमा बहुमत ल्याउने सम्भावनाका साथ तयारीमा जुटेको छ । कम्युनिष्ट नेताहरू एकले अर्कोलाई खुइलयाउन व्यस्त रहँदा काँग्रेस भने निर्वाचनलाई लिएर उत्साही भएको छ । अन्य शक्तिहरू आपसमा भिडिरहेकोले आफू गठबन्धनलाई छोडेर एक्लै निर्वाचनमा जानुपर्ने माग काँग्रेस नेताहरूले गर्न थालेका छन् ।
यता काँग्रेसले निर्वाचनमा सहकार्य नगर्ने सङ्केत दिएपछि गठबन्धनमा रहेका अन्य दलहरू चिन्तामा छन् । काँग्रेस र एमाले एक्लाएक्लै भिड्न थालेमा आफूहरू बढारिने त होइन भन्ने शंका माओवादी, जसपा र हालै विभाजनपछि गठन भएको एकीकृत समाजवादीमा परेको छ । कम्युनिष्टहरू आपसमा भिड्दै गर्दा काँग्रेस एक्लैले बहुमत ल्याएमा पाँच वर्षको लागि प्रतिपक्षमा थन्किनुपर्ने चिन्ताले उनीहरूलाई सताउन थालेको छ ।
त्यसमा पनि दोस्रो तहका नेताहरूलाई आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न पनि पुनः वाम एकता गर्ने विषयमा छलफलमा जुट्न थालेका छन् । माओवादी, जसपा, समाजवादी र विप्लव नेकपाका दोस्रो तहका नेताहरू वाम एकताको विषयमा सहमति जुटाउन प्रयास गरिरहेको स्रोतले बतायो । उनीहरूबीच सकेसम्म पार्टी एकता गर्ने र त्यो सम्भव नभएपमा अछिल्लो निर्वाचनमा एमाले र माओवादीबीच भएको मोडलको सहकार्य गरेर निर्वाचनपछि पार्टी एकता गर्ने रणनीतिमा लागेको बताइन्छ ।
वाम एकताको चर्चाले नै विप्लव नेकपा र माओवादीबीचको एकता रोकिएको बताइन्छ । विप्लवले वाम एकताको सम्भावना रहन्छ भने तत्काल माओवादीसँग एकता गर्नु उपयुक्त नहुने बताएपछि यी पार्टीका दोस्रो तहका नेताहरू फराकिलो ढङ्गबाठ पार्टीहरूसँग छलफल सुरू गरेका छन् । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ प्रकास र कृष्णबहादुर महराले यसको नेतृत्व गरेका छन् । एकीकृत समाजवादीको तर्फबाट महासचिव वेदुराम भुसाल र जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ वाम एकताको पक्षमा निरन्तर छलफलमा छन् ।
निर्वाचनको माहौल सुरू हुँदै गर्दा काँग्रेसमा घमण्ड पलाएको भन्दै गठबन्धनमा रहेकै दलहरूबीच अर्को समीकरण बनेको हो । निर्वाचनको दवाव बढ्दै जाँदा यी दलहरूले अप्ठ्यारो परोको ठाउँमा एमालेसँग पनि सहकार्य गर्ने सम्भावनालाई जीवितै राख्नुपर्ने नेताहरूले बताएका छन् । तर शीर्ष नेताहरू भने एमालेसँग सहकार्य गर्न नहुने पक्षमा छन् । बरू एमालेबाहेकका वाम एकता भएको खण्डमा एमालेमा रहेको ठूलो पङ्ति उक्त पार्टीमा आउने सम्भावनालाई जीवितै राखेर तयारी थाल्न शीर्ष नेताहरूले निर्देशन दिएका छन् ।
यता काँग्रेस सभापति शेरबहादुर देउवा भने कम्युनिष्टहरूबीचको एकता रोक्न पनि गठबन्धनलाई निर्वाचनसम्म लानुपर्ने बताउने गरेका छन् । तर देउवाको यो मतमा काँग्रेसकै अन्य नेताहरूले फरक मत राख्ने गरेका छन् । एमाले र माओवादी एक हुने सम्भावना नरहेकोले काँग्रेस एक्लै निर्वाचनमा जाँदा बहुमत ल्याउन सकिने हिसाब काँग्रेसका अन्य नेताहरूले निकाल्ने गरेका छन् । त्यसैले काँग्रेसले महाधिवेशन पछि मात्र निर्वाचनबारे रणनीति बनाउने योजना बनाएको छ ।।

