यस्तो माग गर्दै कानुन व्यवसायीले बुझाए सभामुखलाई ज्ञापनपत्र

नेपाल बार एशोसिएसनको टोलीले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ । आज (सोमबार) नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले सभामुखलाई ज्ञापन पत्र बुझाएको हो ।

बारको टोलीले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आज विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउन माग गर्दै बारको नेतृत्वमा कानुन व्यवसायीले लामो समयदेखि आन्दोलन गरिरहेका भए पनि प्रमखु दलहरू यस विषयमा मौन छन् ।



यहीबीच नेपाल बारले उनीहरूलाई आज ज्ञापनपत्र बुझाउन लागेको हो । त्यस्तै सभामुख सापकोटाले नेपाल बार एशोसिएसनको जारी आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आन्दोलनरत बारका प्रतिनिधिहरूले बुझाएको ज्ञापन प्रतिवेदन लिँदै उनले सोमबार यस्तो बताएका हुन् ।

प्रधानन्यायाधीश जबराले वर्तमान मन्त्रिमण्डल विस्तारका क्रममा भागबन्डा खोजेको, न्याय सम्पादनमा चरम भ्रष्टाचार गरेर न्यायालयप्रति नै वितृष्णा पैदा गराएको लगायत आरोप कानुन व्यवसायीले लगाएका छन् । प्रधानन्यायाधीश राणा पदबाट नहटेसम्म आन्दोलन जारी रहने बारले बताएको छ ।

 

 

 

सम्बन्धित समाचार