नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० वटा इजालस तोकेका छन् । आज (बुधबार)का लागि प्रधानन्यायाधीशले दुई एकलसहित ८ संयुक्त इजलास सहित २६६ मुद्दाको पेशी तोकेका हुन् ।
त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू इजलास फर्किने सहमति भएको थियो । सर्वोच्च अदालतको पूर्ण वैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिएको थियो । तर, उक्त नियमावली हालसम्म पनि राजपत्रमा प्रकाशन नभएको कारण सर्वोच्च अदालतमा अझै पनि गोलाप्रथा सुरु हुन सकेको छैन ।
प्रधानन्यायाधीशले आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाका लागि एकल इजलास तोकेका छन् । त्यस्तै संयुक्त इजलासमा भने न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुङ्गाना, मीरा खड्का र हरिप्रसाद फुँयाल, हरिकृष्ण कार्की र कुमार रेग्मी, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ र डा. कुमार चुडाल, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल, प्रकाशमान सिंह राउत र नहकुल सुवेदी तथा तेजबहादुर केसी र टङ्कबहादुर मोक्तान रहेका छन् ।

