नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।

सवारी दुर्घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को मृत्यु भएको छ । दाङबाट बुटवल आउँदै गर्दा मंगलबार राति साँढे ९ बजेतिर लु २६प५८९८ नम्बरको मोटरसाइकलमा सवार बन्जाडेलाई ना ७ ख ९०६नम्बरको बसले ठक्कर दिई घाइते बनाएको थियो ।
घाइते भएपछि बुटवल स्थित लुम्बिनी सिटीमा उपचारका क्रममा आज (बुधबार) बिहान ६ बजे मृत्यूू भएको प्रहरीले जानकारी दिएको छ । दाङमा घाइते अपाङ्गको बैठकमा सहभागी भएर फर्कँदै गर्दा बुटवल जीत गढीमा दुर्घटना भएको थियो । घटनामा मोटरसाईकल चालक पाल्पा रामपुरका जीतबहादुर थापा गम्भीर घाइते भएका छन् ।
सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष समेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हुन । ५५ वर्षीय बन्जाडेको निधनमा पार्टीले शोक सभा गरेर अन्त्येष्टि गर्ने भएको छ । उनको श्रीमती, १ छोरा र १ छोरी छन् ।

