नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताएका छन् ।
धनुषाको जनकपुरमा आज(बुधबार) बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डालाई बुलन्द गर्दै अघि बढिरहेकाले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले हाम्रो पार्टी दक्षिणपन्थी भासमा भासिएको छैन्, क्रान्तिकारी सोचका साथअघि बढेको छ भने ।
त्यस्तै उनले नेपालले सूर्यमा ग्रहण लागिसकेको भन्दै कलम चल्न थालेको बताए । अध्यक्ष नेपालले अहिलेको अवस्थामा नेकपा (एकिकृत समाजवादी) पार्टीको चुनाव चिह्न ‘कलम’ चम्किरहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । उनले ओली दक्षिणको इसारामा चलिरहेको आरोप समेत लगाए ।
‘पूर्वमेचीदेखि महाकालीसम्म आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ’, उनले भने, ‘सात प्रदेशमध्ये दुई प्रदेशमा हाम्रै पार्टी नेतृत्वको सरकार छ। प्रदेश नं २ मा पनि हामी एमालेभन्दा कैयौं गुणा शक्तिशाली छौं । यो कुरा सबैलाई थाहा छ ।’ अध्यक्ष नेपालले नेकपा (एमाले) भन्दा आफ्नो पार्टी शक्तिशाली रहेको दाबी गर्दै आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने विश्वास व्यक्त गरे। यही मङ्सिर १५ गतेबाट पार्टीले स्टीकर वितरण गर्दै जनताको घर–घरमा पुग्ने अभियान चलाउन लागेको बताउँदै उनले पार्टीलाई शक्तिशाली बनाउने गरी जनताको घरमा पुग्ने अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
यसैगरी, अध्यक्ष नेपालले आज बिहान जनकपुरधाम उपमहानगरपालिका–१ किशोरी नगरमा नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश र धनुषा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरे। सो अवसरमा उनले विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई माला, अबिर लगाएर पार्टी प्रवेश गराए ।

