नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावललाई समावेश गरिएको थियो ।
त्यसैगरी महासचिवमा शंकर पोखरेलको प्रस्ताव आएपछि पौडेलले आपत्ति जनाएका थिए। स्रोतका अनुसार पौडेल शंकरलाई महासचिव मान्न तयार नभएपछि ओली खेमामै समस्या खडा भएको छ । त्यस्तै नेम्वाङ पनि ईश्वरलाई वरिष्ठ उपाध्यक्ष मान्न तयार भएनन्। पछि उनले सबै पदमा सहमति हुने भए आफू बाधक नबन्ने बताएका थिए । उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझीलाई राखिएको थियो ।
त्यस्तै, सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, लेखराज भट्ट, रघुजी पन्त, विष्णु रिमाल, भानुभक्त ढकाललाई राखिएको थियो। यसमा खगराज अधिकारी, किरण गुरुङ, पद्मा अर्याललगायत नेताहरूले असहमति जनाएका छन् । उनीहरूले यसमा चुनाव हुनुपर्ने भन्दै ओलीलाई दबाब दिए पनि बाहिर भने केही बोलेका छैनन् ।
पदाधिकारीमा युवराज ज्ञवाली, भुसाल, भीम आचार्यलाई समेटिएको थिएन। ओली पक्षका एक नेताका अनुसार सुरेन्द्र पाण्डेलाई संगठन विभागको जिम्मेवारी दिने आश्वासन दिइएको थियो भने अन्य नेताहरूको हकमा केही भनिएको थिएन ।
‘अहिले केही नेतालाई आश्वासन दिइएको छ तर त्यसलाई रावल, भुसाल र ओली पक्षका केही नेता नै मान्न तयार छैनन्। त्यसकारण पनि निर्वाचनको प्रक्रिया अघि बढ्ने देखिएको छ’, एक नेताले भने । आज नागरिक दैनिकमा समाचार छ ।