काँग्रेसको सम्पन्न महाधिवेशनमा जितेर पनि हारेका केसी

नेपाली काँग्रेसको १४औं केन्द्रीय महाधिवेशन भर्खरै सम्पन्न भएको छ । यो महाधिवेशन १३औं महाधिवेशनभन्दा अलिक फरक र रोचक पनि देखियोे । फरक यस मानेमा पनि भयो कि केन्द्रीय कार्यसमितिमा जनताले आशा गरेका नयाँ पुस्ताको उल्लेखनीय आगमन भयो । त्यसो त वडा अधिवेशनदेखि युवा पुस्ताहरुको प्रवेश शुरु भइसकेको थियो र केन्द्रीय समिति त्यसकै परिणाम थियो ।

रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंह एकजुट हुन नसक्नु पनि यस महाधिवेशनको अर्को पट्यारलाग्दो विषय बन्यो । महाधिवेशनअघि नेतृत्व परिवर्तनको नारा लगाए पनि महाधिवेशनको बेला उनीहरूले जुन किसिमको रबैया देखाए, त्यो जनअपेक्षाविपरीत थियो । मध्यमार्गी नेताहरूको समन्वयको प्रयास सफल हुन सकेन । पहिलो चरणको चुनावमा पराजित भएपछि देउवाबाट अब पार्टी चल्दैन भनेर उनलाई विस्थापित गर्न सभापतिमा उम्मेद्वारी दिनेहरू नै पुनः देउवासँग गएर टाँसिनुको रहस्य त खुल्दै जाला तर उनीहरूले जगलाई चाहिँ हँसाएकै हुन् ।



जुँगाको लडाइँमा लागेका नेताहरूलाई मिलाउन दोडधुप गर्ने मध्यमार्गी नेताहरूमध्ये एक थिए अर्जुननरसिंह केसी । नेताहरूलाई एउटै घेरामा गोलबद्ध गर्ने कार्यमा केसी असफल भए पनि उनी आफू भने लोकप्रिय मतसहित केन्द्रीय समितिमा निर्वाचित भए । यो उल्लेखनीय समाचार नभए पनि यसको अन्तर्वस्तु भने मार्मिक छ ।

नेपाली काँग्रेसको १३औं महाधिवेशनमा केसी देउवा निकट थिए तर देउवाको कार्यशैलीमा सन्तुष्ट हुन नसक्ता पछि संस्थापन इतर पक्षसँग नजिकिए । १४औं महाधिवेशनमा आफ्नो पक्षलाई गोलबद्ध गर्ने उद्देश्यले बरू आफू पदाधिकारीमा उम्मेद्वारी नदिने भनेर सबैलाई जोड्न खोज्दा पनि उनी सफल हुन सकेनन् । कतिपय आफ्नै खेमाका साथीहरूले उनको भावना र त्यागलाई बुझ्न सकेनन् वा उचित मूल्याङ्कन गर्न सकेनन् ।

केन्द्रीय समितिको सदस्यतामा सानदार जित हुँदा समेत उनलाई कतिपय अनलाइन मिडिया र मूलधारकै मिडियाले समेत ‘गगनका ससुरा निर्वाचित’ जस्ता पदावलीको प्रयोग गरेर उनको स्वतन्त्र अस्तित्वमाथि प्रश्नचिन्ह खडा गरिदिए । के नेपाली काँग्रेसमा अर्नुननरसिंह केसीलाई चिनाउन गगनकै सहाराको आवश्यकता थियो त ? यो संयोग थियोे कि नियोजित ? खोजीको विषय बन्न सक्ला ।

सम्भवतः कतिलाई केसीसँग देउवा समूह छोडेको बदला लिनु थियो । १३औं महाधिवेशनदेखि नै केसी एक प्रकारको घेराबन्दीमा थिए, विशेष गरी नुवाकोटे देउवा निकटहरूबाट । त्यसबेला पनि पार्टी सभापतिको भोट देउवालाई हाल्नेले पनि त्यही टिममा रहेका केसीलाई भोट दिएनन् । त्यो समूह अहिले पनि सक्रिय छ । तर १४औं महाधिवेशनमा चाहिँ केसीलाई पराजित गर्न हालेको ढुङ्गाले आफैंलाई लागेर आफू पछारिन पुगे ।

१४औं महाधिवेशनमा केसी नेतृत्व फेर्नुपर्छ भन्ने कुरामा स्पष्ट थिए । उनी पार्टीमा नयाँ नेतृत्व आओस भन्ने पक्षमा थिए र सोही अनुसार लविङ पनि गरे । उनको लविङले सार्थकता नपाए पनि चुनावको परिणाम्पछि भने हिजो केसीको लविङ सही रहेछ भन्ने धेरैले महसुस गरे तर समय घर्किसकेको थियो ।

त्यसैले आज आएर धेरैले बझे– त्यतिबेलाको संस्थापन इतर पक्ष एकढिक्का हुन सकेको भए परिणाम् अर्कै आउने रहेछ । माछो पाँच वर्षका लागि आफ्नो हातबाट उम्किसकेको थियो । सम्भवतः यही कारण केसी आफू केन्द्रीय समितिको सदस्य पदमा निर्वाचित भएर पनि रमाउन सकिरहेका छैनन् ।

सम्बन्धित समाचार