कविता : यथार्थता

यो संसार सबै म पार्छु वशमा भन्नेहरूले पनि
मोती रत्न अथाह सञ्चय गरी भण्डार ढाक्ने पनि
अर्काको धनमाल जाल छलले लुट्ने लुटाहा पनि
मर्नै पर्दछ मृत्यु छैन वशमा छोटो छ यो जिन्दगी ।।
।।१।।
माखोझैँ महको बनेर धनमा आँखा लगाए पनि
मेरो पेट भरूँ अरू सब मरून् भन्दै रमाए पनि
भोका स्याल, हुँडार बाघ, चितुवाझैँ दौडिने मानव
मर्नै पर्दछ मृत्युु छैन वशमा बाँच्दैन यो जीवन ।।
।।२।।
मिथ्या भाषण मात्र गर्न कसिने ए भ्रष्ट नेतागण
खोक्रो देश बनाउने चुसिचुसी जुम्रा जुका हो सुन
तिम्रा साथ हुँदैन रत्न, गहना , धागो, जनै, कन्दनी
नाङ्गो जानु छ केही हुन्न सँगमा सम्पूर्णको जिन्दगी ।।
।।३।।
फोस्रो धाक लगाउने र धनको औकात दाँज्ने जन
कात्रो हो कपडा हुँदैन जसमा माणिक्य पन्ना सुन
खाली हात छ जानु नै यदि भने के काम यो छट्पटी
को पो मोज गरेर बस्छ र यहाँ कल्पान्तसम्मन् डटी ।।
।।४।।
झुप्रोदेखि सुवर्णनिर्मित ठुला प्रासाद बस्ने घर
होला जीवन भोग भिन्न धनले मान्छेहरूको तर
बाँचुन्जेल छ मोज लास जब भो जाने मसानै न हो
साँचो अन्तिम सत्य मृत्युु छ भने पार्थक्य के नै रह्यो ।।
।।५।।
राजा, रङ्क, पराक्रमी, अति गुणी, विद्वान् दानी गण
योगी, नैष्ठिक सिद्ध, सन्त, भवका त्यागी मनीषी जन
जन्मन्छन् जति ती अजम्मर बनी बाँच्दैन कोही पनि
चोखो कर्म र सत्य मार्ग छ ठुलो सन्तुष्टिको जिन्दगी ।।
।।६।।

सम्बन्धित समाचार