रियल मड्रिड विजयी हुँदा बार्सिलोनाले बराबरी खेल्यो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी हुँदा बार्सिलोनाले बराबरीमा खेलेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित गर्यो भने बार्सिलोनाले ग्रानडासँग १-१ गोलको बराबरी खेलेको हो ।

रियल मड्रिडको घरेलु मैदानमा भएको एकतर्फी खेलमा टोलीको लागि करिम बेन्जिमा र भिनिसियस जुनियरले समान २-२ गोल गरे । खेलको ४३ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५२ औं मिनेटमा भिनिसियसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यस्तै दोस्रो व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ६१ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई ३-० को अग्रता दिलाए ।



रियल मड्रिड

खेलको ७६ औं मिनेटमा भ्यालेन्सियाका गुएडेसले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ८८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै टिमलाई ४-१ को सहज जित दिलाए । जितसँगै रियल २१ खेलमा ४९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै दोस्रो स्थानको सेभियामाथि ८ अंकको अग्रता बनाएको छ भने २८ अंक जोडेको भ्यालेन्सिया नवौं स्थानमा रहेको छ । त्यसैगरी स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको अर्को खेलमा बार्सिलोनाले ग्रानडासँग १-१ को बराबरी खेलेको छ ।

रियल मड्रिड

ग्रानडाको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा दुवै टोलीले समान १-१ गोल गरे । खेलको ५७ औं मिनेटमा बार्सिलोनाका लुक डी योङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ८९ औं मिनेटमा ग्रानडाका एन्टोनियो पुएरटासले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकियो ।

बार्सिलोना

त्यसअघि खेलको ७९ औं मिनेटमा बार्सिलोनाका गाभीले रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै बार्सिलोना २० खेलमा ३२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने २४ अंक जोडेको ग्रानडा १२ औं स्थानमा रहेको छ । यसैगरी अन्य खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई १-० र लिभान्तेले मालोर्कालाई २-० ले पराजित गरेको छ ।

बार्सिलोना

 

 

सम्बन्धित समाचार