नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ माघ ।
आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको समूह ‘ए’ अन्तर्गतको खेलमा केप भर्डेसँग १–१ को बराबरी खेल्दै क्यामरुन समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ३९ औं मिनेटमा भिन्सेन्ट अबोबाकारले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ५३ औं मिनेटमा केव भर्डेका ग्यारी रोड्रिगेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप समयमा दुबै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकिएको हो ।
बराबरीसँगै क्यामरुन ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ भने बुर्किना फासो र केप भर्डेको समान ४-४ अंक भएपनि भर्डे गोल अन्तरका आधारमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै १ अंक जोडेको इथोपिया पुछारमा रहेको छ । त्यसैगरी सोमबार राति नै भएको अर्को खेलमा इथियोपियार बुर्किना फासोले १–१ को बराबरी खेलेका छन् ।