
सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । आज (बिहीबार) अपराह्न चार बजे प्रधानमन्त्री निवासमा बस्ने भनिएको बैठक स्थगित भएको हो ।
चुनावको मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्न लागेको थियो । बैठकको लागि तयरी नपुगेको र प्रधानमन्त्रीको व्यवस्तताका कारण बैठक स्थगित भएको बालुवाटार स्रोतले बताएको छ । सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव अगाडि गर्ने कि प्रतिनिधिसभाको भन्ने विषयमा एकमत नभएपछि बैठक स्थगित भएको स्रोतले बतायो ।
यसअघि बुधबार प्रधानमन्त्री देउवा र नेकपमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि भेटवार्ता भएको थियो । त्यस्तै गत मंगलबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिनिधिसभाको निर्वाचन अगाडि गर्नुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री देउवा स्थानीय तहको चुनाव पहिला गर्नुपर्ने पक्षमा रहेका छन् । निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । तर बैशाखमा संसदीय र कात्तिकमा स्थानीय चुनाव गर्नेबारे सत्ता गठबन्धनमा नयाँ बहस सुरु भएको छ ।
