विद्यार्थीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएपछि…

अनेरास्ववियुका विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । आज (बिहीबार) पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् ।

काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले विद्यार्थीहरुलाई लाठीचार्ज गरेको थियो भने विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न नेपाल विद्यार्थी संघले (नेविसंघ) सरकारसँग माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले आज एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बेला नेपाल आयल निगले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनविरोधी कार्य गरेको भनी भर्त्सना गरेका हुन् ।



नेपाल आयल निगमले बुधबार राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । जसमा डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३-३ रुपैयाँ बढाएको छ । अब पेट्रोल लिटरको १३९ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य १२२ रुपैयाँ भएको छ ।

सम्बन्धित समाचार