
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई रिक्त राखेर संसदीय निर्वाचन हुननसक्ने बताएका छन् । सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचनभन्दा पहिले नै संसदीय निर्वाचन गर्नेबारे विषय प्रवेश भएको बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री थापाले भने वैशाखमा स्थानीय तहको निर्वाचन नहुनु असंवैधानिक र अलोकतान्त्रिक हुने बताए ।
महामन्त्री थापाले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने सुनिश्चितता संविधानले नै गरेको भन्दै ऐनको व्यवस्था देखाएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने बताए । उनले विगतमा केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेर आन्दोलन गरेको बिर्सन नहुने भन्दै सत्तामा पुगेपछि संविधानविपरीत गर्ने छुट कांग्रेसलाई नभएको बताए ।
उनले वैशाखको अन्तिमसम्म स्थानीय निर्वाचन गरेपछि प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा प्रवेश गर्न सकिने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाखमा संसदीय निर्वाचन गर्ने प्रस्ताव गरेका छन् । उनको प्रस्तावबारे गठबन्धनमा छलफल चलिरहे पनि कांग्रेस महामन्त्री थापाले भने अस्विकार गरेका हुन् ।
