मन्त्री रेणु यादवको विषयमा नागरिक समाजको यस्तो अपिल (अपिलसहित)

मन्त्री यादवलाई पदमुक्त गर्न माग

नागरिक समाजले हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्न माग गरेका छन् । आज (शुक्रबार) एक अपिल जारि गर्दै मन्त्री यादवलाई पदमुक्त गर्न माग गरेका हुन् ।

डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले शुक्रबार संयुक्त रुपमा अपिल जारी गर्दै मन्त्री यादवलाई पदमुक्त गर्न आग्रह गरेका हुन् ।



‘मन्त्री रेणु यादवले यही ५ माघ २०७८ रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएकोप्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं,’ अपिलमा उल्लेख छ । त्यस्तै अपिलमा भनिएको छ, ‘बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो । हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।’

यस्तो छ अपिल

नागरिक अपिल

हत्याकाण्डमा सामेल भएको स्वीकार गर्ने तथा व्यक्तिहत्याको धम्की दिने संघीय मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर ।

२०७८ माघ ७

संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले यही २०७८ माघ ५ गते रौतहट जिल्लाको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएकोप्रति हामी गम्भीरआपत्ति व्यक्त गर्दछौं।

१. चर्चित ‘गौर हत्या काण्ड’ २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्या थियो, जसमा २८ जनामाओवादी समर्थक व्यक्तिहरुले अनाहकमा जीवन गुमाउनुपरेको थियो । वर्वर र पाशविक यस हत्याकाण्डका अभियुक्तलाई न्यायको कठघरामा अझैसम्म उभ्याउन नसकिएको र समाजमा दण्डहीनता कायमै रहेको अवस्थामा मन्त्री रेणु यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलकोसमेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको छ ।

२. मन्त्री रेणु यादवले माघ ५ गते आयोजित सोही कार्यक्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएको तथ्य समेत प्रमाणित हुने श्रव्य-दृश्य सामग्री सार्वजनिक भएको छ । मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनै पनि पदमा रहन अयोग्य भएको यसबाट स्वत: स्पष्ट हुन्छ ।

३. बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो । मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएको तीन दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले यस्तो हिंसात्मक सोच र कार्य संघीय सरकारको धारणा हो कि होइन भन्ने गम्भीर प्रश्न समेत पैदा भएको छ।मुलुकमा कानुनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुरदेउवाले आफैं लिनु अति आवश्यक छ । अत: हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।

हस्ताक्षरकर्ता

१. डा. केदानरनरसिंह केसी

२. चरण प्रसाई

३. गणेशकुमार मण्डल

४. सुशील प्याकुरेल

५. तारानाथ दाहाल

६. इन्द्र अर्याल

७. महामुनीश्वर आचार्य

८. कनकमणि दीक्षित

सम्बन्धित समाचार