
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। उनीसँगै पत्नी राधिका शाक्यमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ। पूर्वप्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजागाइँका अनुसार कोरोना देखिएपछि दुवैजना अहिले बालकोटस्थित निवासमै आइसोलेसनमा रहेका छन्।
बजागाइँका अनुसार दुवैजनाले सुरुमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो। त्यसपछि पीसीआर विधिबाट गरिएको परीक्षणमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।
एमालेले ओलीलाई संक्रमण भएकोबारे वक्तव्यमार्फत जानकारी दिने भएको छ। ओली र पत्नी राधिकामा पनि संक्रमण देखिएपछि केन्द्रीय कार्यालय थापाथलीमा हुने भनिएको आइतवारको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।
