नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र देखिएका समस्याका विषयमा बैठक बोलाएर छलफल गर्ने बताएका छन्। जसपालाई एकताबद्ध बनाएर सबैलाई समेट्ने प्रयासमा आफूहरु रहेको बताउँदै यादवले कसले के गर्न खोजेको हो भन्ने बारेमा थाहा नभएको प्रतिक्रिया दिए।
जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईप्रति उनको भनाइ लक्षित थियो। ‘पार्टीमा कतिपय साथीहरुले कमिटीबाहिर मिडिया र सामाजिक सञ्जालमा असन्तुष्टिहरु पोखिरहनुभएको छ,’ यादवले भने, ‘पार्टीमा मैले कतै समस्या देखेको छैन। तर, साथीहरुले समस्या भयो भनेर बोलिरहनु भएको छ। त्यस्तो हो भने पार्टी कमिटीमा छलफल गर्छौं।’
पार्टीका विषयमा बाहिर मिडियामा प्रचार गर्नु ठीक नभएको भन्दै यादवले आफूले कमिटी बैठकमै छलफल गर्ने बताए। जसपाभित्र बाबुराम भट्टराई र अशोक राईपक्षले यादव सामूहिक नेतृत्वको अभ्यासमा नगएको आरोप लगाएका छन्।
