नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।

सर्वोच्च अदालतले अत्यावश्यक औषधिमा पर्ने सिटामोललगायतका औषधि सहज उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ।अधिवक्ता टीकाबहादुर कुँवरसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो।
नागरिकलाई सिटामोललगायतका अत्यावश्यक औषधि उपलब्ध गराउने काम सरकारको भन्दै सर्वोच्चले आवश्यक व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ। देशभर सिटामोलको हाहाकार भइरहेको भन्दै रिटमा अन्तरिम आदेश मागदाबी गरिएको थियो।
कोरोनाको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्त्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको देखिएको भन्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
