नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ माघ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहका निर्वाचनमा पाँचदलीय गठबन्धन मिलेर नै चुनाव लड्ने बताएका छन् । मंगलबार रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई नेकपा एसमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘पाँच दल मिलेर चुनावमा जान्छौ’, उनले भने, ‘कात्तिक, मंसिरतिर केन्द्र, प्रदेश र स्थानीय तहको चुनावमा जान सकिन्छ ।’ अहिले सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी छन्। आउँदो चुनावमा पनि यो गठबन्धन कायमै राखिने दाबी अध्यक्ष नेपालको थियो।
एक अर्को प्रसंगमा बोल्दै अध्यक्ष नेपालले एमालेले सबैतिर वितण्डा मात्रै मच्चाइरहेको आरोप लगाए । उनले एमालेबाट कसैलाई आशा पनि नभएको बताए ।
