माओवादीमा महासचिव बन्न नेताहरूको दौडधुप, जनार्दन र वर्षमानलाई भिडाउने कि तेस्रो व्यक्तिमा जाने भन्नेमा प्रचण्ड नै द्विविधामा

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन सम्पन्न भैसकेपनि पदाधिकारी चयन नहुँदा पार्टी नै अपूर्ण अवस्थामा छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सहमतिमै चयन गरिए पनि पदाधिकारीमा सहमति नजुट्दा प्रक्रिया अघि बढ्न सकेको छैन । चीनमा उपचाररत नेता वर्षामान पुन स्वदेश फर्किएसँगै पदाधिकारीसँगै जटिल मानिएको महासचिव पदमा सहमति खोज्ने प्रयासहरू भैरहेका छन् ।

पुनले चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै आफू पहिले नै सचिव भइसकेकाले स्वभाविक रूपमा महासचिवमा दाबेदार रहेको बताए । त्यतिमात्र होइन, उनले सकेसम्म सहमतिमै आफू महासचिव हुन र सहमति नजुटे प्रक्रियामा गएर प्रतिस्पर्धा गर्नसमेत आफू तयार रहेको बताए । त्यसो त यसअघि नै सहमतिमा महासचिवको टुंगो लगाउने तयारी गरेका प्रचण्ड पुनकै अडानका कारण पछि हटेका थिए ।

नेता पुनले सहमति भए आफैंमा हुनुपर्ने र नभए निर्वाचनमा जानुपर्ने अडान लिएपछि अन्य पदाधिकारीमा सहमति जुटाए पनि महासचिवमा भने मतदान नै हुने सम्भावना बढेको छ । महासचिवमै दाबी गर्दै आएका जनार्दन शर्मा र नेता पुन दुबै पछि हट्न नमानेको अवस्थामा कि त मतदान गर्नुपर्ने र कि त अध्यक्षले हस्तक्षेप गर्नुपर्ने आवाज पार्टीका नेताहरूले उठाउँदै आएका छन् । तर अध्यक्षले हस्तक्षेप गर्ने अवस्था नरहेकोले महासचिवमा मात्र भएपनि मतदान गर्ने सोचमा प्रचण्ड पुगेको खुमलटार स्रोत बताउँछ ।

पार्टीमा योग्यता र सम्भावनाका हिसावले हेर्दा पनि शर्मा र पुनमध्ये एकलाई छान्न प्रचण्डलाई पनि सकस छ । दुबै नेताले प्रचण्डलाई अप्ठ्यारोमा पनि साथ दिँदै आएका छन् । पार्टी संगठनमा पनि दुबै नेताको भूमिका उत्तिकै छ । तर पछिल्लो समय स्वास्थ्यले साथ नदिएको कारण शर्मालाई महासचिव बनाएर पुनलाई उपाध्यक्ष बनाउने प्रचण्डको तयारी थियो । तर पुनले प्रचण्डको सो प्रस्ताव ठाडै अस्वीकार गरेपछि प्रचण्ड पदाधिकारी चयन प्रक्रियाबाटै पछि हटेका थिए ।

एकलाई च्याप्दा अर्को असन्तुष्ट बन्ने र त्यसले पार्टीलाई नै विभाजनको मुखमा धेकेल्ने देखिएपछि प्रचण्ड शर्मा र पुन दुबैलाई उपाध्यक्षमा राखेर अर्का नेता देव गुरूङलाई महासचिवमा ल्याउने प्रयास पनि गरेका थिए । तर गुरूङको विषयमा पनि पार्टीमा सहमति जुट्न नसकेको बताइन्छ । यी सबै सम्भावना टर्दै गएकोले महासचिवमा मात्र निर्वाचन नै गराउने सोचमा प्रचण्ड पुगेको बताइन्छ ।

विप्लवलाई ल्याउने चर्चा
त्यसो त पार्टीमा महासचिवलाई लिएर रडाको हुने सङ्केत पहिले नै पाएका प्रवक्ता कृष्णबहादुर महराले विप्लवसँग पार्टी एकता गरेर उनैलाई महासचिव बनाउन प्रचण्डलाई प्रस्ताव गरेका थिए । महराको कुरामा प्रचण्ड सकारात्मक पनि भए । यसबीचमा पार्टी एकताको विषयलाई लिएर विप्लव र महराबीच पटकपटक वार्ताहरू भएपनि निष्कर्षमा पुगेका छैनन् । महराले आफूभन्दा जुनियरहरूलाई महासचिव बनाउनभन्दा आफूभन्दा सिनियर विप्लवलाई नै महासचिव बनाउन सके पार्टीमा आफू थप शक्तिशाली बन्न सक्ने अभिप्रायका साथ विप्लवलाई पार्टी एकतामा ल्याउन प्रयास गरिरहेका छन् । प्रचण्डले माघ महिनाभित्रै विप्लवसँग पार्टी एकताको विषय टुङ्ग्याउन महरालाई निर्देशन दिएको पनि बताइन्छ ।

प्रचण्डले माघ २७ गतेको लागि केन्द्रीय कमिटीको बैठक पनि बोलाएका छन् । सो बैठकले पदाधिकारी टुङ्गो लगाउने प्रचण्डको दाबी छ । यससँगै महासचिवमा दाबी गरिरहेका शर्मा र पुनले आन्तरिक तयारी तीब्र पारेका छन् । नेता पुनले त चीनबाट फर्किएलगत्तै प्रचण्डलाई भेटेरै सहमति नजुटे मतदानमार्फत महासचिवको टुङ्गो लगाउन आग्रह नै गरिसकेका छन् ।।

सम्बन्धित समाचार