नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ माघ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २० जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ, सुनसरी र झापा, मधेस प्रदेशका धनुषा, सप्तरी र सिरहा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुरका ५ सयभन्दा बढी संक्रमित छन्। त्यसैगरी, गण्डकी प्रदेशका कास्की, पूर्वी नवलपरासी र तनहुँ, लुम्बिनी प्रदेशका रुपन्देही, बाँके र दाङ तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्।
मन्त्रालयको तथ्यांक अनुसार हाल काठमाडौँमा सर्वाधिक ३७ हजार ३४ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै, ललितपुरमा १० हजार १२५ तथा भक्तपुरमा ५ हजार ६०५ जना सक्रिय सङ्क्रमित रहेका छन्।
यस्तै १६ जिल्लामा दुई सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। मधेस प्रदेशका बारा, पर्सा, महोत्तरी र सर्लाही, बागमतीका धादिङ, सिन्धुपाल्चोक र सिन्धुली गण्डकी प्रदेशका गोरखा, स्याङजा र बाग्लुङ्, लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, बर्दिया र नवलपरासी, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा दुई सय बढी सक्रिय संक्रमित छन्।
नेपालमा कुल सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ मा पुगेको छ। नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन्।
