पशुपति क्षेत्रका अतिक्रमित टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन्। आज उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन्।

‘गुहेश्वरीमा थुप्रै ठाउँमा टहराहरू बनाएर कब्जा गर्ने र अतिक्रमण गर्ने काम भएको छ, यहाँ बनाइएका टहरा हटाउन निर्देशन दिएको छु, अतिक्रमण गर्न पाइँदैन,’ उनले भने। यसैगरी मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएका र विगतमा सदस्य सचिव भएकाहरूले मनपरी ढङ्गबाट काम गरेका तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालनका लागि जमिन दिएको पाइएकाले ती विकृतिको अन्त्य गर्ने बताए।



‘पशुपति क्षेत्र विकास कोषबाट अनुमोदन नै नगरी कतिपय ठाउँ र जमिन भाडामा दिइएको देखियो, यस्ता विकृति अन्त्य हुन्छ,’ उनले भने। पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गर्नका लागि पहल भइरहेको समेत मन्त्री आलेले अनुगमनका क्रममा जानकारी दिए। क्रियापुत्री बस्ने ठाउँमा तातो, चिसो पानीको व्यवस्थापन हुने मन्त्री आलेले दाबी गरे।

सम्बन्धित समाचार