नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ माघ ।

सरकारले माघ १७ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको १८ अर्ब सहुलियतपूर्ण ऋण सहायता लिन वा अन्तिम रुप दिनको लागि वार्ता टोली गठन गर्ने , यही माघ १९ गते सोनाम ल्होसारका अवसरमा नेपालभरका कार्यालयमा बिदा दिनेलगायत निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय
नेपाल टेलिभिजनको अध्यक्षमा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजङ्ग साहलाई बढीमा चार वर्षका लागि नियुक्ति दिने निर्णय
नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा प्रा डा शिलु मानन्धरलाई नियुक्ति दिने निर्णय
सरकारको सचिव पदमा सहसचिव रामेश्वर दङ्गाललाई बढुवा गर्ने निर्णय
लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिशमा विभिन्न कर्मचारीलाई राजपत्राङ्कित प्रथम श्रेणी र सो सरहको पदमा बढुवा गर्ने निर्णय
कच्चा दूधको न्यूनतम् मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय
सफा हिमाल अभियान, २०२२ मा खटिने हिमाल आरोहण दल (नेपाली सेना)का सदस्यलाई सलामी दस्तुर र धरौटी रकम छुट दिने निर्णय
शिक्षक अस्पताल स्थापनाका लागि प्रक्रिया सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय
माघ १९ गते सोनाम ल्होसारका अवसरमा नेपालभरका कार्यालयमा बिदा दिने निर्णय
मालपोत कार्यालय र नापी कार्यालय सिमरा, बाराको कार्यक्षेत्रमा पर्ने साविक गावीसहरु बुनियाद, रामपुरकोटनी तथा लिपनीमालको कार्यक्षेत्र भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय कलैयाको कार्यक्षेत्रमा समावेश गर्ने निर्णय
मालपोत कार्यालय र नापी कार्यालय चितवनको कार्यक्षेत्रमा पर्ने साविक हाजिपुर गाबीसलाई मालपोत कार्यालय र नापी कार्यालय खैरहनीको कार्यक्षेत्रमा समावेश गर्ने निर्णय
दार्चुलाको तुषारपानीदेखि कोठा धारसम्मको चार किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति प्रदान गर्ने निर्णय
तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनको लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने निर्णय
