विवादित आले–ओली संवाद र अबको विकल्प

 

उटपट्याङ र उल्टा–सुल्टा भाषण गर्दैै हिड्ने तथा प्रचारमुखी गतिविधिका कारण मिडिया र सामजिक सञ्जालमा छाइरहने संस्कृति तथा पर्यटनमन्त्री प्रेम आले आजकल नयाँ काण्डले चर्चामा छन् । अछाम घर भई भारतको मुम्बईमा काम गर्दै आएका जगत ओलीसँगको संवाद अहिले चर्चाको चुलीमा छ । सामाजिक सञ्जालमा आएको आले–ओली संवाद अश्लील र अमर्यादित छ । देशको मन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले त्यो हदसम्म झरेर बोल्नु पदीय गरिमाअनुसार नहुने भन्दै चर्चा चुलिएको हो ।



संस्कृति तथा पर्यटनमन्त्रीको रूपमा प्रेम आलेको कामको सर्वत्र प्रशंसा भएको थियो । देशको लागि राम्रै काम गर्दै आएका मन्त्री आले मिडियामा समाचारको हेडलाइन बनेर छाइरहेका थिए तर एकाएक ओलीलाई आफैंले कल गरी गाली गलौच र धम्कीको भाषा बोलेको संवाद बाहिरिएपछि मन्त्रीको रूपमा उनले गरेको राम्रो काम ओझेलमा परेको छ । अझ उनको कामबाट आफ्नो सेटिङ बिग्रिएकोमा रिसाइरहेको प्रतिपक्षी दलका लागि यो नयाँ मसला बनेकोले यस विषयलाई उछालीरहेका हुन सक्छन् । उनीहरूका लागि आलेलाई पाखा लगाउने यो राम्रो इस्यु बन्न सक्छ । आले स्वयम् पनि चुकेकै हुन् । अतः देशका लागि उल्लेखनीय काम गर्दै आएका मन्त्रीले अशोभनीय भाषा बोलेपछि अहिले उनीमाथि सामाजिक सञ्जालमा गालीको वर्षा भइरहेको छ । आलेको राजनीतिक जीवनका लागि यो दुःखद् घटना सावित हुने छ ।

उता मन्त्री आलेको सचिवालयले भने जगत ओलीले ब्ल्याकमेल गर्न खोजेको आरोप लगाएको छ । सत्यतथ्य जे भए पनि मन्त्रीजस्तो गरिमामय पदमा आसिन ब्यक्तिले आफ्नो मर्यादाको ख्याल नै नगरी विदेशमा बसेर काम गरिरहेको आफ्नै नागरिकलाई त्यो हदसम्मको धम्की दिनु कुनै हालतमा पनि राम्रो मान्न सकिन्न । ओलीले मन्त्रीलाई ब्ल्याकमेलिङ नै गर्न खोजेको रहेछ भने पनि मन्त्रीको भाषा संयमित हुन सक्नुपथ्र्यो ।

अश्लील, असभ्य र अमर्यादिन संवाद बाहिरिएपछि मन्त्री आलेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठ्न थालेका छन् तर गठबन्धन दल भने प्रतिक्रियाविहीनजस्तै बनेको छ । मन्त्री पदमा बहाल रहेको बेला यस्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका कारण शेरबहाद्र तमाङ, गोकुल बाँस्कोटा, पुर्वसभामुख कृष्णबहादुर महरा, पुर्वकृषिमन्त्री हरिप्रसाद पराजुली र पुर्वरक्षा मन्त्री शरदसिंह भण्डारीलगायतले नैतिककताको आधारमा राजीनामा दिएका थिए वा कति बर्खास्तमा परेका थिए । त्यही नजिरमा टेक्तै आलेले पनि राजीनामा दिने हो भने उनको राजनैतिक कद थप उठ्ने थियो । झुक्नु भनेको आफूलाई महान् बनाउनु पनि हो । अरूलाई झुकाएर आफ्नो पदको अहङ्कार प्रदर्शन गर्नुभन्दा झुकेर विवादको अन्त्य गर्ने प्रयास गर्नु राजनीति गर्नेहरूका लागि उत्तम मार्ग हो ।

सम्बन्धित समाचार