नेपालद्वारा फिलिपिन्स सामू २१९ रनको लक्ष्य प्रस्तुत

कुशल भुर्तेलको शतकीय पारी

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई जितको लागि २१९ रन्को लक्ष्य प्रस्तुत गरेको छ । आज (शनिबार ) ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै २१८ रन बनायो ।

नेपालको लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अविजित रहँदै १०४ रनको शतकीय पारी खेले भने दिपेन्द्र सिंह ऐरीले ८३ रन बनाए ।कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रन तथा पारस खड्काले ५२ बलमा १ सय ६ रन बनाएका थिए । कुशल र दिपेन्द्रले नेपालका लागि टी–ट्वान्टीको सर्वाधिक रनको साझेदारी गरे । उनीहरुले तेस्रो विकेटको लागि १ सय ७१ रनको साझेदारी गरेका हुन् ।



त्यस्तै लोकेश बम ६ रनमा अविजित रहे भने कुशल मल्लले १२ रन बनाई आउट भए । फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले समान १-१ विकेट लिए । नेपाल विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको हो । नेपाल पहिलो खेलमा घरेलु टोलीलाई हराउँदै छनोटमा सुखद सुरुआत गरेको छ । नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराउदै २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । नेपालले तेस्रो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्नेछ ।

त्यस्तै समूह ‘ए’ मा आयरल्याण्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी -२० विश्वकप खेल्न पाउनेछन् ।

सम्बन्धित समाचार