विश्वकप छनोटमा नेपालद्वारा फिलिपिन्स पराजित

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । आज (शनिबार) भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको हो । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै २१८ रन बनायो । जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

नेपालको लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अविजित रहँदै १०४ रनको शतकीय पारी खेले भने दिपेन्द्र सिंह ऐरीले ८३ रन बनाए ।कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रन तथा पारस खड्काले ५२ बलमा १ सय ६ रन बनाएका थिए । कुशल र दिपेन्द्रले नेपालका लागि टी–ट्वान्टीको सर्वाधिक रनको साझेदारी गरे । उनीहरुले तेस्रो विकेटको लागि १ सय ७१ रनको साझेदारी गरेका हुन् । त्यस्तै लोकेश बम ६ रनमा अविजित रहे भने कुशल मल्लले १२ रन बनाई आउट भए । फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले समान १-१ विकेट लिए ।



२१९ रनको लक्ष्य लिएर मैदान उत्रेको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ८२ रन मात्र बनायो । फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७ रन बनाए भने ड्यानियल स्मीथले २० रन जोडे । यस्तै कप्तान जोनाथन हिलले ११ रन बनाउँदा अन्यले खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने गुल्सन झा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखियाको भागमा समान १-१ विकेट रह्यो । नेपाल विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

जितसँगै नेपाल २ खेलमा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा जितविहिन रहँदै फिलिपिन्स पुछारमा रहेको छ। यस्तै क्यानडा २ खेल १ जित र १ हारसहित २ अंक जोड्दै दोस्रो स्थानमा रहँदा समान खेलमा १ जित र १ हारसहित २ अंक जोडेको ओमान रनरेटमा क्यानडा भन्दा पछि रहँदै तेस्रो स्थानमा रहेको छ । आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । नेपालले तेस्रो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्नेछ ।

त्यस्तै समूह ‘ए’ मा आयरल्याण्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी -२० विश्वकप खेल्न पाउनेछन् ।

सम्बन्धित समाचार