नेपाल अपराजित रहँदै सेमिफाइनलमा

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ । आज (सोमबार) भएको खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गरेको हो । जितसँगै नेपाल अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडा १५ ओभरमा अलआउट हुँदै ८० रनमा समेटियो । क्यानडाका लागि डिलोन हेलिगर २४ रनमा अविजित रहे भने कप्तान नभनित धलिवालले १८ रन जोडे । त्यस्तै रयान पठान १४ रन बनाई आउट भए भने सलमान नजरले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने अविनाश बोहरा र कमल सिंह ऐरीको भागमा समान २-२ विकेट रह्यो । यस्तै कुशल मल्लले एक विकेट लिए ।



८१ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १४.१ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो ।नेपालको लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अविजित रहँदै क्रमश: ३४ र २७ रन बनाए । त्यस्तै आशिफ शेख १७ रन जोडे  । क्यानडाका कलिम साना र सलमान नाजरले एक एक विकेट लिए । अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग भोलि (मंगलबार)खेल्नेछ । यस्तै ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ । नेपाल विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको हो । नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । नेपाल ३ खेलमा ६अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो ।

आईसीसी टी -२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् । नेपालले तेस्रो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा क्यानाडाविरुद्ध खेल्नेछ ।

त्यस्तै समूह ‘ए’ मा आयरल्याण्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी -२० विश्वकप खेल्न पाउनेछन् ।

 

सम्बन्धित समाचार