नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।
नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको छ । विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को मंगलबार भएको सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएपछि नेपालले विश्वकपमा स्थान बनाउन असफल भएको हो । हारसँगै अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुने नेपालको सम्भावना समाप्त भएको छ ।
ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय पारी खेले भने भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे । नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले समान ३-३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेको भागमा १ विकेट रह्यो ।
१७६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल १८ ओभर ४ बलमा अलआउट हुँदै १०७ रनमात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३८ रन बनाए भने ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन बनाए । युएईका लागि अहमेद राजाले ५ विकेट लिए भने जुनदे सिद्द्कीको भागमा ३ विकेट रह्यो ।