नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत तेस्रो स्थानको लागि नेपाल र ओमान भिड्दै छन् । आज (बिहीबार) नेपालले घरेलु टोली ओमानसँग खेल्न लागेको हो । ओमानको अल अमेरात मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
समूह चरणमा शतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाल सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित भएको थियो भने घरेलु टोली ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो । सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपमा पुग्ने नेपालको सपना अधुरै रहेको थियो । नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ भने ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्दै समूह चरणमा व्यहोरेको हारको बदला लिने दाउमा रहेको छ ।
समूह चरणमा नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले र क्यानडालाई ८ विकेटले हराएको थियो । त्यस्तै विश्वकप छनोटको उपाधिका लागि आजै युएई र आयरल्याण्ड भिड्ने छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलियामा आयोजना हुने विश्वकपका टी-२० विश्वकपको लागि छनोट भएका छन् ।