नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ फागुन ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले रायो भालेकानोलाई १-० ले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रियलको क्रिम बेन्जिमाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा रियलले १ गोल गर्यो । ८३ औं मिनेटमा जुनियरको पासमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा दुबै टोलीबाट गोल भएन र खेल रियलले १-० ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक प्राप्त गर्न सफल भयो । त्यसअघि कासिमिरोले पहिलो हाफमा गोल गरेपनि भिएआरको सहयोगमा उनको गोललाई अफसाइड घोषित गरिएको थियो ।
जितसँगै रियल २६ खेलमा ६० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै दोस्रो स्थानमा रहेको सेभियामाथि ९ अंकको अग्रता बनाउन सफल भएको छ भने पराजित भएको रायो भालेकानो समान खेलमा ३१ अंक जोड्दै तालिकाको १२ औं स्थानमा रहेको छ ।