नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।
भरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ ।महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एकजना विद्यार्थीलाई रु. तीन हजारका दरले रु. २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको हो ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले ती विद्यालयका २४० विद्यार्थीलाई सो रकम हस्तान्तरण गरेका हुन् । लोपोन्मुख तथा अति सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकासमा सहजता होस् भन्ने उद्देश्यका साथ महानगरले पहिलोपटक नगद छात्रवृत्ति प्रदान गरेको हो । महानगरको कूल बजेटबाट १५ प्रतिशत रकम शिक्षामा लगानी गरेको शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।
विद्यालयको भैतिक पूर्वाधार विकास, पाठ्य सामग्रीको प्रवद्र्धनदेखि विद्यार्थीका लागि छात्रवृत्ति, दिवा खाजा कार्यक्रम, स्कुल बस वितरण, साइकल वितरणलगायत अरु धेरै भौतिक तथा आर्थिक सहयोग गरेको उनले बताए । आफूहरुले महानगरभित्रको शिक्षाको विकासमा सुरुका चरणदेखि नै विशेष अभियान थालेको र त्यसले विस्तारै पूर्णता पाउँदै गएको उपप्रमुख शाहले बताए । छात्रवृत्ति वितरण गर्न बाँकी विद्यालयका विद्यार्थीका लागि प्रदान गरिने रकम बैंकमार्फत् विद्यालयको खातामा पठाएको महाशाखाले जनाएको छ ।