कृष्णप्रसाद न्यौपाने
काठमाडौं, १५ फागुन ।
एमसीसी पनि पास भो नि त ठुले के सत्य हो यो कुरा ?
कान्छो भन्छ भयो अरे हजुरबा ढाँटिन्न यस्ता कुरा ।
मर्ने पो दिन आउँदै छ कि कसो भन्दै उठे साहिँला
भुत्ते छन् खुकुरी खुँडा जति सबै भन्दै थिए माहिँला ।।१।।
एमसीसी लिन मोह नै यदि भए भो यो रडाको किन ?
चक्का जाम र बन्द नै किन गरे नारा लगाए किन ?
सुर्को स्वाद लिँदै चिया पसलमा झन् जोसमा अन्तरे
बोल्यो काल समीप देख्छु यिनको काटिन्छ उस्तै परे ।।२।।
जिब्रो फेर्न सिपालु यी छिचिमिरा नेता बने दुर्गुणी
आमाको पनि वस्त्र खोल्न कसिने हुन् भ्रष्ट यी बैगुनी ।
सत्ताको पिरमा सधैँ सकसमा यो देश भो बन्धकी
नेपाली जनता सदैव बिचरा! डुब्ने भयो जिन्दगी ।।३।।
खोक्रो भाषणमा जिते मत लिई बाचा सबै बिर्सिए
के हो राष्ट्रियता भुले अधमले कुर्सीसँगै बेरिए ।
आऊन् फेरि यहाँ म छोड्दिन दुबै खुट्टा नभाँचीकन
भन्छन् क्रोध गरेर मेजर बुढा मुट्ठी बटारीकन ।।४।।
कोही हो ठिक भन्छ भन्दछ कुनै चाहिन्न के काम यो
भो व्याख्यात्मकले सुधार अहिले बोली यहाँ फेरियो ।
एमसीसीसित बेचियो मुलुकको स्वाधीनता गौरव
नेता योग्य भएन यो मुलुकमा जन्मे सबै दानव ।।५।।
थुक्छिन् ख्वाक्क गरेर हात रगडी जेठी दिदी क्रोधले
त्यागी, निश्छल, राष्ट्र भक्त अगुवा पाएन यो देशले ।
आफ्नो स्वार्थ सिवाय हेर्छ कसले ढोँगी छ नेता जन
आऊन् भोट भनेर छोड्छु म कहाँ माथा नफोरीकन ।।६।।
सम्झौता गरियो अरे मुलुकको के हुन्छ खै उन्नति ?
सम्झौता यदि हो भने अहितको भोगिन्छ नै दुर्गति ।
एमसीसी अब भित्रियो मुलुकमा सिध्याउने चालले
साह्रै चित्त दुखाउँदै पसलमा गर्थे कुरा गाउँले ।।७।।
(शार्दूलविक्रीडित छन्द)