नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ फागुन ।
प्रिमियर लिग क्लब चेल्सी र लिभरपुल एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा चेल्सीले लुटोन टाउनलाई ३-२ ले पराजित गर्दै र लिभरपुलले नर्विच सिटीलाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको दोस्रो मिनेटमा रिस बुर्केले गोल गर्दै लुटोनलाई अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा चेल्सीका सउल निगुएजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै खेलको ४० औं मिनेटमा ह्यारी कोर्निकले गोल गर्दै लुटोनलाई २-१ को अग्रता दिलाए । पहिलो हाफ २-१ मा सकिएको खेलमा दोस्रो हाफको ६८ औं मिनेटमा टिमो वेर्नेरले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई ३-२ को कठिन जित दिलाए । त्यसैगरी नर्विच सिटीलाई २-१ ले पराजित गर्दै लिभरपुल पनि एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा खेलको २७ औं मिनेटमा ताकुमी
मिनामिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ३९ औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।
पहिलो हाफ २-० मा सकिएको खेलमा खेलको ७६ औं मिनेटमा नर्विचका रुपले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल लिभरपुलले २-१ ले आफ्नो पक्षमा पार्दै अन्तिम आठमा प्रवेश गर्यो । यसैगरी साउथह्याम्पटन पनि वेस्ट ह्याम युनाईटेडलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।