नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ फागुन ।
स्पिन बलिङको नयाँ परिभाषा दिने अस्ट्रेलियाका महान स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा थाइल्याण्डमा हृदयघातका कारण निधन भएको छ । उनको व्यवस्थापनले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै सञ्चारमाध्यममा यो जानकारी दिइएको हो ।
‘फक्स स्पोर्ट्स डट कम डट एयू’ (‘fox sports.com.au’) का अनुसार वार्नको व्यवस्थापनले एक संक्षिप्त विज्ञप्ति जारी गर्दै वार्नको मृत्यु थाइल्याण्डमा भएको र यसको कारण हृदयघात भएको बताएको छ । शेन आफ्नो निवासमा अचेत अवस्थामा फेला परेको विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्यकर्मीको सबै प्रयासका बाबजुद पनि उनलाई बचाउन नसकिएको भनिएको उल्लेख छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा सबै समयका महान खेलाडीहरू मध्ये एक, वार्नले १९९२ मा अष्ट्रेलियाको लागि डेब्यू गरे, १४५ टेस्ट खेल्दै ७०८ विकेट लिएका छन् । श्रीलंकाका दिग्गज अफ स्पिनर मुथैया मुरलीधरन (८००) पछि वार्न टेस्टमा सबैभन्दा धेरै विकेट लिने खेलाडी थिए । त्यस्तै उनले १९४ एकदिवसीय खेलमा २९३ विकेट लिएका छन् । सन् २००८ को आईपीएलको पहिलो सिजनमा उनको कप्तानीमा राजस्थान रोयल्सले उपाधि जितेको थियो । शेन वार्नलाई विश्वकै सफल बलर मानिन्छ ।