नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन् । आइतबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई २-१ ले पराजित गर्यो भने रियल बेटिस एट्लेटिको मड्रिडसँग ३-१ ले पराजित हुन पुग्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै २ गोल गर्यो । खेलको ६० औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा मेम्फिस डीपेले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए । त्यसअघि खेलको ८८ औं मिनेटमा जाभियरले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै बार्सिलोनाले २६ खेलमा ४८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ भने ३२ अंक जोडेको इल्चे १३ औं स्थानमा रहेको छ । त्यसैगरी आइतबार राति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३-१ ले पराजित गरेको छ । एकतर्फी बनेको खेलमा खेलको दोस्रो मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा रियल बेटिसका क्रिस्टियन टेलोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा उत्कृष्ट खेल खेल्दै एट्लेटिको मड्रिडले २ गोल गर्यो । व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ६१ औं मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिको मड्रिडलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा थोमस लेमारले गोल गर्दै एट्लेटिकोलाई ३-१ को सहज जित दिलाए । जितसँगै एट्लेटिकोले २७ खेलमा ४८ अंक जोड्दै चौंथो स्थानमा छ भने ४६ अंक जोडेको रियल बेटिस पाँचौं स्थानमा रहेको छ ।