नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ फागुन ।
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले कठिन जित निकालेको छ । शुक्रबार राति भएको खेलमा एट्लेटिको मड्रिडले काडिजमाथि २-१ को कठिन जित निकालेको हो ।
एट्लेटिको मड्रिडको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको तेस्रो मिनेटमा एट्लेटिको मड्रिडका जोआ फेलिक्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा काडिजका अल्भारो नेग्रेडोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६८ औं मिनेटमा रोड्रिगो डी पाउलले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल एट्लेटिको मड्रिडले २-१ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक प्राप्त गर्न सफल भयो । त्यसअघि खेलको ८८ औं मिनेटमा एट्लेटिकोका जाभी सेरानोले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । जितसँगै एट्लेटिको २८ खेलमा ५१ अंक जोड्दै तेस्रो स्थानमा छ भने २४ अंक जोडेको काडिज १८ औं स्थानमा रहेको छ ।