नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र लिभरपुल विजयी भएका छन् । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले टोटेनहमलाई ३-२ ले पराजित गर्यो भने ब्राइटन लिभरपुलसँग २-० ले पराजित हुन पुग्यो ।
म्यानचेस्टर युनाईटेडलाई जित दिलाउन क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने टोटेनहमका लागि ह्यारी केनले १ गोल गर्दा म्यानचेस्टर युनाईटेडका ह्यारी मग्वाएरले १ आत्मघाती गोल गरे । म्यानचेस्टर युनाईटेडको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै म्यानचेस्टर युनाईटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा टोटेनहमका ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ३८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । पहिलो हाफ २-१ मा सकिएको खेलमा खेलको ७२ औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरको आत्मघाती गोल मार्फत खेल २-२ को बराबरीमा पुग्यो । त्यसपछि ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ८१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै म्यानचेस्टर युनाईटेडलाई ३-२ को जित दिलाए ।
यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् । उनले ८ सय ७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन् । जितसँगै युनाईटेड २९ खेलमा ५० अंक जोड्दै चौथों स्थानमा छ भने ४५ अंक जोडेको टोटेनहम सातौं स्थानमा रहेको छ । त्यसैगरी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा लिभरपुलले ब्राइटनलाई २-० ले पराजित गरेको छ । लिभरपुललाई विजयी गराउन लुइस डियाज र मोहमद सलाहले समान १-१ गोल गरे ।
एकतर्फी बनेको खेलमा खेलको १९ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा लिभरपुलले थप १ गोल गर्यो । उसको लागि खेलको ६१ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल लिभरपुलले २-० ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक प्राप्त गर्न सफल रह्यो । जितसँगै लिभरपुल २८ खेलमा ६६ अंक जोड्दै दोस्रो स्थानमा छ भने ३३ अंक जोडेको ब्राइटन १३ औं स्थान रहेको छ ।