पत्रपत्रिका
काठमाडौं, २९ फागुन ।
वर्तमान गठबन्धन सरकारमा मन्त्रीका लागि क-कसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘सरकारमा जान धेरै साथीले चाहना राख्नुभयो । हामीलाई थोरै कोटा छ । अहिले केही साथीलाई पठाऔँ । ६ महिनापछि पुरानालाई फिर्ता बोलाए नयाँ टिम पठाऔँ।’ यादवको उक्त प्रस्तावमा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पनि सहमति जनाएका थिए ।
कार्यकारिणी र संसदीय दलको बैठकपछि यादवले सरकारमा चार नेतालाई पठाए । सुरुमा प्रमोद साहको नाम पनि राखिएको थियो। नामावली सूची प्रधानमन्त्रीलाई बुझाउने बेलामा भने साहको ठाउँमा महेन्द्र यादवलाई राखियो । सरकारमा जान नपाएपछि सांसद साह, प्रदीप यादवलगायत आक्रोशित भए । अध्यक्ष यादवले असन्तुष्ट नेताहरूलाई अर्को सिफ्टमा पठाउने आश्वासन दिएर शान्त पारे ।
जसपा सरकारमा गएको झन्डै ६ महिना हुन लागेको छ। जसपा कार्यकारिणी समिति सदस्य तथा राष्ट्रियसभा सदस्य मिर्गेन्द्रसिंह यादवले कार्यकारिणी र संसदीय दलको बैठकमा पार्टी अध्यक्ष यादवले स्पष्ट रूपमा अहिले सरकारमा पठाइएकालाई ६ महिनापछि फिर्ता बोलाएर नयाँ टिमलाई पठाउने आश्वासन दिएको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।