नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० फागुन ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको एकतर्फी खेलमा खेलको १४ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको २१ औं मिनेटमा टोरेसले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । यस्तै खेलको २७ औं मिनेटमा पिएरे एमरिक अबमेयाङको गोल मार्फत पहिलो हाफमा बार्सिलोना ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७५ औं मिनेटमा रिकी पुइगले गोल गर्दै बार्सिलोनालाई ४-० को शानदार जित दिलाए । जितसँगै बार्सिलोना २७ खेलमा ५१ जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने ३५ अंक जोडेको ओसासुना ११ औं स्थानमा रहेको छ ।