नवकान्तिपुर संवाददाता
काठमाडौं, १ चैत ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ ।सोमबार राति भएको खेलमा रियल मड्रिडले मालोर्कालाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
रियललाई विजयी गराउन करिम बेन्जिमाले दुई गोल गरे भने भिनिसियस जुनियरको नाममा एक गोल रह्यो । एकतर्फी बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा रियल मड्रिडले उत्कृष्ट पुनरागमन गर्दै ३ गोल गर्यो । दोस्रो हाफको ५५ औं मिनेटमा जुनियरले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर बनाए ।
त्यसैगरी व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ८२ औं मिनेटमा बेन्जिमाको गोल मार्फत रियल मड्रिड ३-० ले अघि रह्यो । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल रियल मड्रिडले ३-० ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण ३ अंक प्राप्त गर्न सफल रह्यो । जितसँगै रियल मड्रिड २८ खेलमा ६६ अंक जोड्दै तालिकामा शीर्ष स्थानमा रहँदै १० अंकको अग्रता बनाएको छ भने २६ अंक जोडेको मालोर्का १६ औं स्थानमा रहेको छ ।