पीएनजीद्वारा नेपाललाई जितको लागि २०५ रनको लक्ष्य

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई जितको लागि २०५ रनको लक्ष्य दिएको छ । युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २०४ रन बनायो ।

उसको लागि चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय पारी खेले भने चाड सोपरले ३५ रन बनाए । त्यस्तै टोनी उरा २७ रन बनाई आउट भए भने लेगा सियकाले २५ रन जोडे । नेपालको लागि सोमपाल कामीले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल र आरिफ शेखको भागमा समान १-१ विकेट रह्यो ।



नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्ने पक्षमा रहेको छ । त्यस्तै नेपाललाई पराजित गर्दै पीएनजी पनि पहिलो जित निकाल्ने दाउमा रहेको छ । सिरिजअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेलेको थियो। जसमा २ मा जित र १ खेलमा हार व्यहोरेको थियो । नेपालले सिरिजमा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ । त्यस्तै दोस्रो खेल नेपालले युएईविरुद्ध मार्च १८ मा खेल्नेछ भने तेस्रो खेल यूएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

यस्तै मार्च २२ मा नेपालले अन्तिम खेल पीएनजीविरुद्ध खेल्नेछ । नेपाल ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ भने १५ खेल खेलेको युएई १८ अंक सहित दोस्रो स्थानमा रहेको छ । यसैगरी १३ खेलमा जितविहिन रहेको पीएनजी तालिकाको पुछारमा रहेको छ ।

 

सम्बन्धित समाचार