नुवाकोट जिल्लामा स्थानीय चुनावको सरगर्मी सुरु

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित नेताहरूको गढका रूपमा हेरिने गरेको नुवाकोट जिल्लामा चुनावी सरगर्मी बढदै गएको छ । वैशाख ३० मा स्थानीय निर्वाचन घोषणा भएसँगै जिल्लामा चुनावी माहोल बढदै गएको हो । नेताहरूको जिल्ला दौडाहा सुरू भइसकेको छ । स्थानीय स्तरका नेताहरू पनि शहर वा सदरमुकामबाट गाउँ केन्द्रित हुन थालेका छन् र गाउँ गाउँमा सभा सम्मेलन तथा टोल टोल टोलमा कमिटीहरू निर्माण हुन थालेका छन् ।

स्थानीय चुनावलाई लक्ष्य बनाएर नेपाली काँग्रेस पनि जोडतोडका साथ चुनावी अभियानमा जुटेको छ । नुवाकोटका ८८ वटै वडाहरूमा टोल कमिटीहरू बनाउदै काँग्रेसलाई नयाँ मोडेलमा गतिशील गर्न लागिएको नुवाकोट जिल्लाका नेका सभापति रमेशकुमार महत बताउँछन् । यसै मेसोमा काँग्रेसले गत फागुन २९ गतेबाट ‘घर घर जाउँ, काँग्रेस जिताउँ’ भन्ने मूल नाराका साथ एक महिने अभियान नै चलाइसकेको छ । नेता तथा कार्यकर्ताहरू ‘अबको जिल्ला काँग्रेसको किल्ला’ हुने बताउदै जनमत आफ्ना पक्षमा पार्न गाउँ पस्न थालेका छन् । अहिले नुवाकोट जिल्लाका अधिकांश स्थानीय स्तरमा नेकपा एमाले र माओवादी निकटको बाहुल्य रहेको छ । त्यसैले विगतमा गुमेको जनमतलाई आफ्नो पक्षमा फर्काउने कसरतमा काँग्रेस लागेको अनुमान गर्न सकिन्छ ।



नेपाली काँग्रेसले विगतबाट पाठ सिकेर जनमतलाई आफ्नो पक्षमा पार्न जनतामुखी कार्यक्रम लिएर गाउँ पसेको अवस्था छ भने माओवादी र एकीकृत समाजवादी काँग्रेससँग सहकार्य गरेर आफ्नो साख जोगाउने रणनीतिमा छन् । यदि गठबन्धन टुटेको अवस्थामा आफ्ना एजेण्डाहरू लिएर काँग्रेस एकल रूपमा जनतामाझ जाँदा पर्न सक्ने प्रभावका बारेमा शीर्षतहमा विचार विर्मश भइरहेको जानकारहरू बताउँछन ।

यसपटक राप्रपा पनि राम्रैसँग संगठन विस्तारमा लागेको देखिन्छ । अन्य दलका नेता तथा कार्यकर्ताहरू पनि चुनावी माहौल आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन् । उता नेकपा एमाले अरूको सहारामा जानेलाई ढोडको लौरोको संज्ञा दिँदै एमाले चुनावमा एक्लै जाने स्पष्ट सङ्केत दिएको छ । अबको निर्वाचनमा दलहरूले सत्तामुखी मात्र भएर हैन जनतामुखी भएर सम्भव हुने र कार्यन्वयन गर्न सकिने एजेण्डा लिएर मतदाताका बीच जानुपर्ने राजनीतिक पण्डितहरूको ठम्याइ छ ।

सम्बन्धित समाचार